दाङ।
तुलसीपुर उपमहानगरपालिका–४ मजुवाकी मुना ओलीलाई आजभोलि बाजा बजाउन भ्याइनभ्याई छ। जिल्लाभित्र तथा बाहिर आयोजना हुने सभा–सम्मेलन, विवाह, पूजाआजा र विभिन्न उत्सवमा नौमती बाजा बजाउन उनी समूहसहित पुगिरहेकी छन्। नौमती बाजा बजाउने समूहमा सक्रिय महिलामध्ये एक ओली महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्ने सोचका साथ यो यात्रामा लागेको बताउँछिन्।
‘महिला पनि सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ,’ उनले भनिन्, ‘हामी बाजा बजाएर अगाडि बढिरहेका छौँ।’ मागअनुसार उनीहरू दाङका विभिन्न स्थानसँगै जिल्लाबाहिर पनि पुग्ने गरेका छन्।
तुलसीपुर–४ रक्षाचौरकी विष्णु केसीका अनुसार पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताको घट्दो चासोका कारण लोप हुन थालेको नौमती बाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले महिलाहरू यसमा जुटेका हुन्। बाजा संरक्षणसँगै आम्दानीको स्रोत बनेको उनले बताइन्। ‘सुरुमा सकिँदैन कि जस्तो लागेको थियो, तर सिकेपछि सहज भयो,’ उनले भनिन्।
तुलसी महिला नौमती बाजा समूहमा अहिले धेरै महिला आबद्ध छन्। विवाह, व्रतबन्ध, मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा परम्परागत मुख्य बाजा भएको समूहकी सदस्य विष्णु केसी बताउँछिन्। लोपोन्मुख अवस्थामा पुगेको यस बाजालाई दाङका महिलाहरूले जोगाउने प्रयास थालेका छन्।
पहिले ग्रामीण क्षेत्रमा सीमित र व्यावसायिक नबनेको नौमती बाजालाई तुलसी महिला नौमती बाजा समूहले व्यावसायिक बनाएको छ। समूह बाजा बजाउन सल्यान, रोल्पा, प्युठान, बुटवल र नेपालगन्जसम्म पुग्ने गरेको अर्की सदस्य ४४ वर्षीया विमला केसीले जानकारी दिइन्।
तुलसी महिला नौमती बाजा समूहकी अध्यक्ष कस्तुरा खड्काका अनुसार एक दिनको कार्यक्रमबाट २० देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरिन्छ। चार वर्षदेखि बाजा बजाउँदै आएकी खड्काले आम्दानीको आधा समूह कोषमा जम्मा गर्ने र बाँकी रकम टोलीका सदस्यलाई दुईदेखि तीन हजार रुपैयाँसम्म वितरण गर्ने गरेको बताइन्।
‘सुरुमा सिक्न गाह्रो थियो, अहिले सहज भएको छ,’ अध्यक्ष खड्काले भनिन्। लोप हुन थालेको नौमती बाजाको संरक्षण र संवर्द्धन सबैको दायित्व भएको उनको धारणा छ। तुलसीपुर उपमहानगरपालिकाले पनि तालिम तथा विभिन्न सहयोग कार्यक्रममार्फत महिला समूहलाई साथ दिँदै आएको उनले जानकारी दिइन्।