काठमाडौँ, माघ १५ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्ष पदमा कोशी प्रदेशका मातृका शिवाकोटीले उम्मेदवारी दिने घोषणा गरेसँगै महासङ्घभित्र नयाँ बहस र आशा दुवै पैदा भएको छ।
पुस्तक तथा स्टेशनरी क्षेत्रका उत्पादक, प्रकाशक र खुद्रा व्यवसायीहरूको साझा छाता संगठन महासङ्घको नेतृत्व अहिलेसम्म सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशले गरिसकेको भए पनि कोशी, मधेस र कर्णाली प्रदेशबाट अहिलेसम्म केन्द्रीय नेतृत्व प्राप्त हुन सकेको छैन। यस्तो अवस्थामा कोशी प्रदेशबाट शिवाकोटीको उम्मेदवारीलाई ऐतिहासिक र स्वाभाविक दाबीका रूपमा व्यवसायीहरूले हेरेका छन्।
महासङ्घ स्रोतका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशले १ पटक, बागमती प्रदेशले ३ पटक, गण्डकी प्रदेशले १ पटक र लुम्बिनी प्रदेशले ३ पटक महासङ्घको नेतृत्व गरिसकेको छ। लामो समयदेखि नेतृत्व बाहिर परेको कोशी प्रदेशबाट शिवाकोटी पहिलोपटक अध्यक्ष पदको दाबेदार बनेका हुन्। यसैले उनको उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा मात्र नभई क्षेत्रीय न्याय र समावेशी नेतृत्वको मागका रूपमा पनि स्थापित हुँदै गएको देखिन्छ। हाल महासङ्घका वरिष्ठ उपाध्यक्ष रहेका शिवाकोटी सातौँ राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका नेता हुन्।
व्यवसायीहरूका अनुसार वरिष्ठ उपाध्यक्षमा पाएको व्यापक समर्थन नै अध्यक्ष पदमा उनको दाबीको बलियो आधार हो। 'जसले संगठनमा निरन्तर लगानी, संघर्ष र योगदान दिएको छ, उसले नेतृत्व दाबी गर्नु स्वाभाविक हो,' नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष जीवन नेपाल भन्छन्। २०३७ साल भदौ २६ गते तेह्रथुमको आठराईमा जन्मिएका मातृका शिवाकोटी शैक्षिक र व्यावसायिक रूपमा समेत सबल व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले जनसङ्ख्या तथा ग्रामीण विकासमा स्नाकोत्तर गरेका छन् भने व्यवस्थापन संकायमा स्नातक उपाधि हासिल गरेका छन्।
कानुन व्यवसायीसमेत रहेका शिवाकोटी विराटनगरस्थित ‘पपुलर ल फर्म’ सञ्चालन गर्दै आएका छन्। लेखा प्रणाली, कानुनी प्रक्रिया र संस्थागत व्यवस्थापनमा उनको दख्खल महासङ्घ नेतृत्वका लागि थप उपयुक्त मानिन्छ। व्यावसायिक यात्रातर्फ हेर्दा शिवाकोटीले २०५४ सालमा काठमाडौँको प्रदर्शनी मार्गबाट ‘साई पुस्तक भण्डार’ सञ्चालन गर्दै व्यवसाय सुरु गरेका हुन्। २०६० सालपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पस नजिक र पछि ट्राफिक चोकमा ‘पपुलर पुस्तक भण्डार’ सञ्चालन गर्दै आएका छन्। थोरै थोक र धेरै खुद्रा कारोबारमा केन्द्रित उनको व्यवसायिक मोडेल सफल मानिन्छ।
संगठनात्मक यात्रामा उनी तत्कालीन मोरङ पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घको सहसचिवबाट सक्रिय व्यावसायिक राजनीतिमा प्रवेश गरेका हुन्। २०६२ सालको दोस्रो राष्ट्रिय महाधिवेशन बाट लेखा समितिको सदस्य बनेका शिवाकोटी तेस्रो अधिवेशनमा केन्द्रीय सदस्य, पाँचौँ महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष हुँदै सातौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षसम्म आइपुगे। छैठौँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भए पनि हारबाट नथाकी संगठनमै टिकिरहनु उनको नेतृत्व क्षमताको उदाहरणका रूपमा व्यवसायीले हेरेका छन्। “निर्वाचनमा हार्ने धेरैजसो संगठनबाट टाढा हुन्छन्, तर शिवाकोटी कहिल्यै आफ्नो वर्गीय संगठनबाट अलग भएनन्,” विराटनगरका व्यवसायी गौतम शर्मा यसै भन्छन्। निरन्तर उपस्थिती, संघर्ष र लगानीका कारण महासङ्घमा उनको योगदान अतुलनीय रहेको उनको भनाइ छ।
शिवाकोटीले महासङ्घभित्र देखिएका भित्री समस्या, अस्वस्थ प्रतिस्पर्धा, उत्पादक–प्रकाशक–वितरकबीचको असन्तुलन र निजी स्वार्थले संगठन कमजोर बनेको स्वीकार गरेका छन्। उनले भनेका छन्, “सबल र सक्षम नेतृत्व नहुँदा साना समस्या मात्र होइन, महासङ्घमा समस्याको चाङ थपिँदै गएको छ।” अध्यक्ष निर्वाचित भए तीन महिनाभित्रै जिल्ला, प्रदेश र केन्द्रको वैधानिकता सम्बन्धी समस्या समाधान गर्ने उनको योजना छ। कानुनको विद्यार्थी भएकाले संघसंस्थाहरू स्वायत्त र वैधानिक हुनुपर्नेमा उनी दृढ छन्। साथै राज्यले पुस्तक तथा स्टेशनरी व्यवसायीमाथि गरेको असमान व्यवहारविरुद्ध संस्थागत लडाइँ लड्ने प्रतिबद्धता उनले जनाएका छन्।
कागजको मूल्य स्थिर रहँदा पाठ्यपुस्तक उत्पादन लागत आकासिनु, पुस्तक नीति नहुनु, विद्यार्थी विदेश पलायनजस्ता दीर्घकालीन समस्यामा राज्यलाई दबाब दिने उनको स्पष्ट योजना छ। “नीतिगत लडाइँका लागि संस्थागत प्रयास मेरो बाचा हो,” उनी भन्छन्। महासङ्घमा आबद्ध करिब १८ हजार व्यवसायी र बाहिर रहेका थप १० हजार व्यवसायीलाई समेट्ने लक्ष्यसहित उनले स्थायी कार्यालयका लागि जग्गा खरिद र भवन निर्माणलाई प्राथमिक एजेन्डा बनाएका छन्।
“मेरो नेतृत्वमा कम्तीमा एक तलाको भवन नवौँ महाधिवेशनअघि निर्माण गर्ने लक्ष्य छ,” उनले भने। शिवाकोटी भन्छन्, “म अध्यक्षमा आउँछु या नआउँछु, तर मेरा योजना कार्यान्वयन गर्ने जिम्मेवारी देशभरबाट आउने ५७५ प्रतिनिधिहरूको विवेकमा छ।” संगठनको गरिमा, समावेशी नेतृत्व र भविष्यको सुनिश्चितताका लागि सही मूल्याङ्कन गर्दै मतदान गर्न उनले मतदातालाई आग्रह गरेका छन्।