काठमाडौं । भोजपुर नगरपालिका-५ बोखिमका गणेशकुमार प्रधान जनमुक्ति सेनामा ब्रिगेड कमाण्डरसम्म हुनुभयो । पार्टीभित्र शिव श्रेष्ठ परिचय बनाएका प्रधान पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य र जनमुक्ति सेनामा इलामको चुलाचुलीमा बस्दा ब्रिगेड कमाण्डरमा प्रमोशन पाउनुभयो ।
जनयुद्ध सुरु हुनुभन्दा अगाडिदेखि नै पार्टीमा आबद्ध प्रधानको आस्था डगमगाएको छैन । समाज आमूल परिवर्तनका लागि राजनीतिमा होमिएका प्रधान यतिबेला देश माओवादीकै एजेन्डामा सञ्चालन भइरहेको भनाइ राख्नुहुन्छ । त्यसबेलाको परिवेश र वर्तमानमा राजनीति परिस्थितिबारे नेपालकभरका सम्पादक सञ्जीव अधिकारीले प्रधानसँग गरेको कुराकानी:–
० तपाईं गणेशकुमार प्रधान कि शिव श्रेष्ठ ?
– दुवै म हुँ । हिजो एउटा कालखण्डमा शिव श्रेष्ठ, त्योभन्दा अगाडि र पछाडि गणेशकुमार प्रधान ।
० अहिले के भनेर चिन्छन् ?
– अहिले चाहिँ गणेश प्रधान भनेरै चिन्छन् । पार्टीभित्र पनि गणेश प्रधान भनेरै चिन्छन् । पुराना साथीहरुले चाहिँ शिव भन्छन् ।
० शिव नाम अब औपचारिक रुपमा रहेन ?
– औपचारिक रुपमा रहेन । तर काहिँ न काहिँबाट जोडिएर आइहाल्छ ।
० जनयुद्धका बारेमा थाहा पाउँदा कति वर्षको हुनुहुन्थ्यो ?
– जनयुद्ध सुरु गर्ने हामी आफै हौं । जनयुद्ध सुरु गर्नुभन्दा अगाडिदेखि नै म पार्टीमा आबद्ध थिएँ । जनयुद्ध सुरु गर्दा म २१ वर्षको थिएँ ।
० के सोचेर जनयुद्धमा लाग्नुभएको थियो ?
– समाजमा रहेका कुरीति, कुसंस्कार, शोषण, उत्पीडनका पाटा पक्षहरु, सरकारी पक्षबाट सेवाग्राहीमा गर्ने व्यवहारले मलाई जनयुद्धमा लाग्न प्रेरित गरेको हो ।
० रमाइलो गर्ने उमेरमा जनयुद्धमा लाग्नुभयो ?
– बिहान ५ बजे बाटो लागेर साँझ ५ बजे सदरमुकाम पुगेर नागरिकता बनाउन खोज्दा कर्मचारीले गर्ने व्यवहार बेथिति हो भन्ने ज्ञान मलाई थियो । देशभरि राष्ट्रियता, जनजिविकाको सवालमा आन्दोलनको उठान भइरहेको थियो । यी सवालको विरुद्धमा बोल्ने प्रेरणा मैले पाएँ ।
० प्रशासनले तपाईंलाई त्यसैबेला चिन्यो ?
– टाढाबाट नागरिकता बनाउन आउँथे, उनीहरुले बोकेको सातुचामल सकिन्थ्यो । फेरि घर फर्किने, ल्याउने काम पटक पटक हुन्थ्यो । नागरिकता बनाउने ठाउँमा मैले प्रश्न उठाएपछि ५ मिनेटमा नागरिकता बन्थ्यो । नागरिकता बनाइ दिएवापत कर्मचारीले अपेक्षा गरेका हुँदा रहेछन् । कर्मचारीलाई नदिँदा महिनौं काम अल्झिदो रहेछ ।
० यो प्रवृत्ति अहिले हरायो ?
– पछिल्लो समय झन झाँगिएको मैले प्रत्यक्ष अनुभव गरेको छु । कर्मचारी आफूलाई व्यस्त देखाउँछन् । तर खल्तीबाट ५० नोट झिकेर दिएपछि ब्यस्त समयमा पनि काम हुन्थ्यो । राज्यसत्ताको आमूल परिवर्तन नगरी यो परिवर्तन सम्भव छैन ।
० जुन उद्देश्यले जनयुद्ध लड्नुभयो, त्यो पूरा भयो ?
– जनयुद्धको उद्देश्य झन्डै ३० प्रतिशत पूरा भयो होला । जागरण र अधिकारका कुरा स्थापित भयो । अहिले पनि माओवादीकै एजेन्डामा देश चलिरहेको छ । धर्मनिरपेक्ष, समानता, समावेशितालगायतका कुरा माओवादीकै एजेन्डा हुन् ।
प्रधानसँगको भिडियो कुराकानी