काठमाडौं, असार १९ –गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि कुल आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार, श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाख बढी श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिए। उनका अनुसार कुल श्रम स्वीकृतिमध्ये ६०.२८ प्रतिशत नयाँ तथा ३९.७२ प्रतिशत पुनः श्रम स्वीकृति रहेका छन्।
श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकहरूमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन र क्रोएसिया रहेका छन्। व्यक्तिगत श्रम स्वीकृति लिने कामदारहरूले बढी रोजेको गन्तव्यमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका छन्।
हाल वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति प्राप्त संस्था १,६८७ मध्ये सक्रिय संस्था ७२४ मात्र रहेका छन्। चालु आर्थिक वर्षको अन्त्यसम्म २१२ संस्थाले मात्र नवीकरण गरेका छन्।
महानिर्देशक भट्टराईले सेवा प्रवाहमा सुधार गर्दै श्रम स्वीकृति प्रणालीलाई पूर्ण डिजिटल बनाइएको जानकारी दिए। “अब श्रमिकले आवेदन दिएको दुई मिनेटभित्र श्रम स्वीकृति पाउँछन्,” उनले भने। अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलमध्ये दुईतिहाइ व्यवस्थापन भइसकेको जानकारी पनि उनले दिए।
श्रम स्वीकृति प्रणाली सुधारसँगै स्वास्थ्य परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउन अनुगमन प्रणालीमा सुधार गरिएको र सोको विवरण डिजिटल प्रणालीमार्फत रोजगारी सूचना व्यवस्थापन प्रणालीमा समेटिएको छ।
विभागले सेवा प्रवाहमा गुणात्मक तथा रचनात्मक सुधारका प्रयास जारी रहेको र आवश्यक कानुनी संशोधनका लागि तयारी भइरहेको समेत जनाएको छ। अहिलेसम्म वैदेशिक रोजगारीका क्रममा सात अर्ब २० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति वितरण गरिएको विभागले जानकारी दिएको छ।