महोत्तरी
सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व लाग्छ,’ बर्दिबास–३ पाटुकी निरु पौडेल भन्छिन्। सुरुमा ‘बाहुनकी छोरीबुहारीले के गरि बस्छे’ भन्ने टीकाटिप्पणी धेरै सुनिन्। तर उनी नडराई पञ्चे बाजामा लागिरहिन्। ‘काम छाडिनँ, अब त नाम र दुवै कमाएकी छु,’ उनले भनिन्।
समावेसी नौमती पञ्चे बाजा सांस्कृतिक समूहमा निरुसँगै क्षत्री, तामाङ, मगर, कामी, सार्की, दमाईँ समुदायका महिलामात्र होइन पुरुषहरू समेत सक्रिय छन्। जात, लिङ्ग वा पहिचानभन्दा माथि उठेर उनीहरूले समूह गठन गरेका हुन्।
‘हामीकहाँ जात र लिङ्गको कुरा हुँदैन, त्यसैले नाममै ‘समावेसी’ राख्यौँ,’ समूहका अध्यक्ष रमेश पौडेल खत्रीले बताए।
मङ्सिरदेखि व्यस्त बनेको यो समूहमा १५ जना सदस्य छन्, जसमा ८ जना महिला छन्। ‘हामीलाई बोलाउने धेरै हुन्छन्। एकैदिन दुई स्थानमा पुग्नुपर्ने अवस्था हुन्छ,’ अध्यक्ष खत्रीले बताए, ‘कतै–कतै टीका–टिप्पणी होला, तर सुन्ने फुर्सद नै छैन।’
समूहकी भाले दमाहा वादक सुभद्रा कार्कीका अनुसार यो पेशा केवल रोजगार होइन, परम्परागत सोच विरुद्धको ‘विद्रोह’ पनि हो।
‘महिलाले यो काम गर्न हुँदैन, यो त अमुक जातको हो भन्ने सोचले समाज जकडिएको छ। यस्तो समय हामीले दमाहा समाएका छौँ,’ उनले भनिन्, ‘अब त आलोचकहरू आफैँ हराउँदै गएका छन्। हामी पेसामा स्थापित भइसकेका छौँ।’
सहानाई वादक भीममाया क्याप्छाकी मगरको तालमा दर्शक मोहित हुने गरेका छन्। ‘यिनीहरूको तालमेल अद्भुत छ,’ बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले प्रतिक्रिया दिए, ‘कामप्रतिको समर्पण प्रशंसनीय छ।’
समूह हालै बर्दिबास नगर कार्यपालिकामा दर्ता भएको हो। उनीहरूले शुल्कसमेत तोकेका छन्।
-
बर्दिबास–३ मा कार्यक्रम : ४५ हजार रुपैयाँ
-
अन्य १३ वडामा : ५५ हजार रुपैयाँ
-
नगरबाहिर : ६५ हजार रुपैयाँ
झ्यालीवादक जानुका विकका अनुसार समूहमा आबद्ध भएपछि घरायसी खर्च चलाउन अरूलाई धाउनुपर्ने बाध्यता हटेको छ। उदयपुर, सिन्धुलीसहित मधेसबाहिरका थुप्रै समारोहमा उनीहरू सहभागी भइसकेका छन्।