क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले मानव जीवनभरि मस्तिष्कमा हुने संरचनात्मक र कार्यात्मक परिवर्तनलाई पाँच प्रमुख ‘युग’ वा चरणमा विभाजन गरेका छन्। करिब ४ हजार व्यक्तिका मस्तिष्क स्क्यानको विश्लेषणमा आधारित यस अनुसन्धानले मस्तिष्क विकासका चार महत्वपूर्ण ‘मोड बिन्दु’— ९, ३२, ६६ र ८३ वर्ष—पहिचान गरेको छ, जसले विकासका पाँच युगलाई छुट्याउँछ।
पहिलो युग : जन्मदेखि ९ वर्षसम्म (बाल्यकाल)
यो चरणमा नेटवर्क कन्सोलिडेसन अर्थात् स्नायु सञ्जाल सुदृढीकरण तीव्र रूपमा सक्रिय रहने अध्ययनमा उल्लेख छ।
-
अनावश्यक सिन्याप्सेस हट्दै जान्छन्,
-
उपयोगी कनेक्सन मात्र जीवित रहन्छन्।
यस क्रममा मस्तिष्कको तार (white matter) को दक्षता घटे पनि सेतो र खैरो पदार्थको आयतन बढ्दै जाने देखिएको छ।
दोस्रो युग : ९ देखि ३२ वर्षसम्म (किशोर–युवा अवस्था)
यस उमेरमा सेतो पदार्थको मात्रा निरन्तर बढ्छ र
मस्तिष्कका सञ्चार सञ्जालहरू परिष्कृत हुँदै जान्छन्।
जडानहरूको दक्षता बढ्दै जाँदा संज्ञानात्मक क्षमता तथा प्रदर्शनमा उल्लेख्य सुधार देखिने वैज्ञानिकहरूको निष्कर्ष छ।
तेस्रो युग : ३२ देखि ६६ वर्षसम्म (वयस्क स्थिर अवस्था)
यो चरण ‘बुद्धिमत्ता र व्यक्तित्वको पठार’सँग मेल खान्छ।
मस्तिष्क संरचना तुलनात्मक रूपमा स्थिर देखिन्छ र केही क्षेत्रमा विभाजन बढ्दै जान्छ।
वैज्ञानिकहरूले यसलाई सबैभन्दा लामो र स्थिर विकास ‘युग’ मानिएका छन्।
चौथो युग : ६६ देखि ८३ वर्षसम्म (प्रारम्भिक बुढ्यौली)
यस अवधिमा सेतो पदार्थमा बुढ्यौलीसँग सम्बन्धित क्षय देखिन थाल्छ।
मस्तिष्कका जडानहरू क्रमशः कमजोर हुँदै जाने र कार्यक्षमतामा गिरावटको प्रारम्भिक संकेत देखापर्न सुरु हुने अनुसन्धानले देखाएको छ।
पाँचौँ युग : ८३ वर्षपछि (ढिलो बुढ्यौली)
८३ वर्षपछि मस्तिष्क जडानमा कमी निरन्तर देखिने वैज्ञानिकहरूको भनाइ छ।
यसलाई गहिरो बुढ्यौली चरणका रूपमा व्याख्या गरिएको छ।
वैज्ञानिकहरूको भनाइ
वरिष्ठ लेखक तथा क्याम्ब्रिजका न्यूरोइन्फर्मेटिक्स अनुसन्धानकर्ता प्रो. डंकन एस्टल भन्छन्—
“हामीले जीवनलाई विभिन्न चरणबाट गुज्रने प्रक्रिया मान्छौँ। अध्ययनले देखायो कि मस्तिष्क स्वयं पनि यस्तै युगहरूबाट अघि बढ्छ।”
अनुसन्धानकर्तामध्ये एक एलेक्सा मौस्लीका अनुसार, ३२ वर्षको उमेरमा मस्तिष्क विकासमा सबैभन्दा तीव्र परिवर्तन देखिन्छ।
उनी भन्छिन्—
“अभिभावकत्वजस्ता जीवनका महत्त्वपूर्ण घटनाहरुले पनि यस्ता परिवर्तनमा भूमिका खेल्न सक्छन्।”
यो अध्ययन मानसिक स्वास्थ्य विकारका जोखिम, उनीहरूको सम्भावित विकासक्रम तथा जीवन–चरणअनुसार मस्तिष्कमा पर्ने प्रभाव बुझ्न महत्वपूर्ण आधार बन्न सक्छ भन्ने वैज्ञानिकको विश्वास छ।