बागलुङ, ७ साउन – रङ्गीचङ्गी बुकी फूल, सिरसिर चल्ने शीतल हावा र लुकामारी खेल्ने बादलले सजिएको चौरीखर्क हालसालै पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। स्थानीयवासीले ‘चुङ्री’ भनेर चिन्ने यो मनमोहक स्थल प्राकृतिक सौन्दर्यका पारखीका लागि विशेष गन्तव्य बन्न थालेको हो।
पूर्वी रुकुम र बागलुङको सिमानामा पर्ने करिब ४,००० मिटर उचाइको चौरीखर्क विगतमा गोठालाहरूका लागि मात्रै परिचित थियो। तर, हाल सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार बढेसँगै बाह्य पर्यटकहरूको चहलपहलसमेत तीव्र हुँदै गएको छ।
स्थानीय गोठाला भागवीर घर्ती मगरका अनुसार, "पहिला सुनसान हुने यो ठाउँमा अहिले पर्यटकको बाक्लो उपस्थितिले डाँडो नै रमणीय देखिन थालेको छ।" उनका अनुसार, जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क पुगेका उनी असार महिनामै सयौँ पर्यटक देखिसकेका छन्।
गोठालाहरूको अनुसार, बर्खामा हरियाली, बनफूल र भेडीगोठको दृश्यले यहाँ आउने जोकोहीलाई लोभ्याउने गरेको छ। पूर्वी रुकुम भूमे गाउँपालिका–१ का गोठाला नमसिंह गुरुङ भन्छन्, "यहाँको हरियाली र मौसमी सौन्दर्यले अहिले पर्यटकहरू स्वतः तानिँदै आएका छन्।"
पिछिल्लो वर्ष पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकार र पर्यटन डिभिजन कार्यालय बाँकेको पहलमा चौरीखर्क जोड्ने करिब पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको थियो। कार्यालयका प्रमुख टङ्कनाथ खनालका अनुसार, “यस वर्ष पनि पदमार्ग सुधार र पूर्वाधार विस्तारका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।”
पर्यटन प्रवर्द्धनका लागि जलाकी, विश्रामस्थल र चिनारी बोर्डहरू थप गर्ने योजनासमेत प्रदेश सरकारले अघि सारेको छ।
दाङबाट घुम्न आएका पर्यटक पारस न्यौपानेका अनुसार, "चौरीखर्कको शीतलता र प्राकृतिक वातावरण गर्मी छल्न उपयुक्त रहेछ।" उनले पदमार्गमा विश्रामस्थल र सूचना बोर्ड थपिए पर्यटकलाई अझ सहज हुने बताएका छन्।
चौरीखर्क अब बागलुङ र पूर्वी रुकुमको पर्यटन नक्सामा उदाउँदै गएको स्पष्ट देखिन्छ। उचित प्रचारप्रसार र पूर्वाधार विकासले यो स्थान निकट भविष्यमा पर्यटकीय हब बन्ने सम्भावना बलियो देखिन्छ।