काठमाडौं,— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै नेकपा (एमाले) भित्र विवाद र बहस तीव्र बन्दै गएको छ। एमालेले उनलाई पूर्वराष्ट्रपतिको हैसियतमा 'निष्क्रिय' भूमिकामा रहन आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गर्दै गत असार १४ गते पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन्।
उक्त घोषणापछि एमाले नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा ओली,ले पार्टी विधानको प्रयोग गरेर भण्डारीको भूमिकालाई सीमित गर्ने प्रयास थालेका छन्। स्रोतहरूका अनुसार ओलीनिकट नेताहरूबीच भण्डारीको सक्रियता रोक्न विधान संशोधन वा व्याख्या गर्नेबारे आन्तरिक छलफल समेत भइरहेको छ।
तर, भण्डारी भने आफैंलाई पहिले एमाले उपाध्यक्षको हैसियतमा चिनाउन अग्रसर देखिएकी छन्। शुक्रबार बानेश्वरको कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति बन्नुअघि पार्टीमा ३५ वर्ष बिताइसकेको स्मरण गराउँदै, ‘म पहिले उपाध्यक्ष थिएँ, पछि राष्ट्रपति बनेकी हुँ,’ भनेर आफ्नो पहिचान एमाले नेतृकै रूपमा कायम रहेको संकेत दिइन्।
अझ उल्लेखनीय त के छ भने, पत्रकार सम्मेलनका लागि तयार पारिएको विज्ञप्तिमा उनले आफ्नो परिचय ‘एमाले उपाध्यक्ष’ भनेर मात्र दिएकी छन्। 'पूर्वराष्ट्रपति' भन्ने सम्बोधन राख्न उनले अस्वीकार गरेकी हुन्।
तर, यस कदमलाई लिएर आलोचना पनि उत्तिकै चर्किएको छ। कतिपयले पूर्वराष्ट्रपतिले आफ्नो गरिमा र पदको प्रतिष्ठा माटोमा मिलाएको आरोप लगाएका छन्। राजनीतिक विश्लेषक केशव दाहालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘सम्मानित पदको मान, प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाऊ। यो हुँदैन, हुँदै हुँदैन।’
यसबीच, एमालेभित्रै पनि भण्डारीको भूमिकालाई लिएर मतभेद देखिएको छ। एकथरी नेताहरू उनलाई सशक्त विकल्पका रूपमा अघि सार्न चाहन्छन् भने अर्का धारले उनलाई ‘पार्टी अनुशासन’ उल्लंघन गर्ने नेतृका रूपमा हेर्ने गरेका छन्।
सामाजिक सञ्जालमा पनि यो विषयले चर्को बहस सिर्जना गरेको छ। समर्थकहरूले भण्डारीको निर्णयलाई ‘साहसी’ र ‘राजनीतिक पुनर्जागरण’ को रूपमा स्वागत गरिरहेका छन् भने आलोचकहरू उनलाई 'अराजनीतिक पद्धति' को प्रयोग गरेको आरोप लगाउँदैछन्।
अब एमालेको औपचारिक निर्णय के हुने हो र भण्डारीको राजनीतिक यात्रा कुन दिशातर्फ मोडिन्छ — त्यो भने हेर्न बाँकी छ।