काठमाडौं, साउन – उच्च अदालत बुटवलको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि थुनामा पुगेसँगै पार्टीभित्र नेतृत्वको नयाँ शक्ति सन्तुलन देखा पर्न थालेको छ। कार्यबाहक सभापति डीपी अर्याल र हालै नियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा बनिरहेको नयाँ ध्रुवीकरणले पार्टीमा आन्तरिक कम्पन ल्याएको छ।
पार्टीको संरचना फेरबदलको क्रममा अर्यालले आफू निकट व्यापारीक साझेदार बुर्लाकोटीलाई महामन्त्री पदमा ल्याएपछि आलोचना सुरु भएको हो। पूर्वमहामन्त्री डा. मुकुल ढकालले निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक नभएको विषय उठाएपछि डीपी अर्यालको प्रस्तावमा बुर्लाकोटीलाई पूर्ण जिम्मेवारी दिइएको थियो।
पार्टी प्रवक्ताको जिम्मेवारीमा पनि स्वर्णिम वाग्लेले आफ्नो निकट मानिने सांसद मनिष झालाई अघि सारेका छन्। यो निर्णय सभापति लामिछानेको महाधिवेशनसम्म कार्यबाहक नेतृत्व मात्रै रहने नीतिविपरीत गरिएको हो।
यसअघि सह–महामन्त्री रहेकी सुमना श्रेष्ठको राजीनामा लामो समयसम्म निर्णयविहीन अवस्थामा रहे पनि लामिछाने पूर्पक्षमा पुगेपछि चाँडै स्वीकृत गरिएको थियो। स्रोतका अनुसार सुमनालाई हटाउने रविको इच्छा थिएन।
बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णयबारे पार्टीभित्र व्यापक सहमति नलिइएको स्रोतहरू बताउँछन्। लामिछाने निकट स्रोतले भने, “यो निर्णयबारे सभापतिलाई जानकारी गराइएको थिएन। उहाँ सक्रिय हुँदा यस्ता निर्णयको छानबिन हुनसक्छ।”
व्यावसायिक साझेदारी र सहकारी प्रकरणको छायाँ
डीपी अर्याल र बुर्लाकोटीबीचको सम्बन्ध केवल राजनीतिक होइन, व्यवसायिक पनि देखिएको छ। दुबै जनाको नाम सुमिरे ट्राभल्स एन्ड टुर्स र केही सहकारी संस्थाहरूमा साझेदारको रूपमा देखिएको छ। संसदमा कांग्रेस सांसद रामकृष्ण यादवले ‘नयाँ कृषि सहकारी’मार्फत ४ करोड रुपैयाँभन्दा बढी निक्षेपकर्तालाई फिर्ता नदिएको आरोपसहित यी दुईको संलग्नता औंल्याएका थिए।
यादवले सदनमा भनेका थिए, “डीपी अर्याल नयाँ कृषिका उपाध्यक्ष हुँदा यस्तो समस्या आयो। त्यसमा रास्वपाका बुर्लाकोटी पनि सञ्चालक समिति सदस्य थिए।”
उक्त विषयको छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भइसकेको छ।
साथै, सुमिरे ट्राभल्समार्फत जापानमा भिजिट भिसामा व्यक्ति पठाउने कार्यसम्बन्धी प्रश्नसमेत संसदमा उठेको छ। अर्यालले भने आफूसँगको सम्बन्ध स्पष्ट पार्दै प्रमाण मागेका थिए।
राजनीतिक भविष्य के?
रास्वपाको नेतृत्व तहमा देखिएको यो पुनर्संरचना पार्टीको नारा 'नयाँ राजनीति'सँग मेल नखाने प्रकारको रहेको विश्लेषकहरू बताउँछन्। लामिछाने पूर्पक्षमा रहँदा नयाँ ध्रुवीकरण शक्तिशाली बन्ने सम्भावना देखिएको छ, तर उनी फर्किएपछि आन्तरिक सत्ता संघर्ष चर्कन सक्ने आँकलन पनि गरिएको छ।