ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई राष्ट्रिय महत्वको नाका भन्दै यसको सञ्चालनलाई सरकारको विशेष प्राथमिकतामा राखिएको स्पष्ट गरेका छन्।
सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकार पनि किमाथाङ्का नाकाप्रति गम्भीर चासो देखाइरहेको उल्लेख गरे। ‘सडक सञ्जाल विस्तारसँगै किमाथाङ्का नाका पूर्ण सञ्चालनमा आउनेछ,’ मन्त्री खड्काले भने, ‘यसले नेपाल, चीन र भारतबीचको त्रिदेशीय सम्बन्धलाई थप प्रगाढ बनाउनेछ।’
उनले जिल्ला भित्र भारतीय लगानीमा सञ्चालित ठूला जलविद्युत् आयोजनाको पनि उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध आवश्यक रहेको धारणा व्यक्त गरे।
चैनपुरस्थित आयोजनाले सङ्खुवासभासहित चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्षलाई समेट्दै दिगो जलस्रोत उपयोग र कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको मन्त्री खड्काले जानकारी दिए।
‘स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि सङ्खुवासभा विकासमा पछि परेको थियो,’ उनले भने, ‘अब जनताको चाहनाअनुसार बजेट विनियोजन गरिएको छ।’
ऊर्जा क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्दै उनले अबको प्राथमिकता विकास र समृद्धिमा केन्द्रित हुने बताएका छन्।