पर्सा, वीरगञ्ज – वीरगञ्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/८२ मा नेपालको आयात-निर्यात कारोबारमा उल्लेखनीय वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, उक्त आर्थिक वर्षमा कुल रु. ६ खर्ब २५ अर्ब ९७ करोड मूल्य बराबरका वस्तु तथा सामग्री आयात गरिएको छ। अघिल्लो वर्षको तुलनामा यो आयात १५.१४ प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ अग्रस्थानमा छन्। पाँच प्रकारका पेट्रोलियम पदार्थहरू मात्रै करिब रु. १ खर्ब ९१ अर्ब ८८ करोड मूल्यमा आयात गरिएका छन्। त्यसपछि भटमासको कच्चा तेल (रु. ५७ अर्ब ६८ करोड), मेसिनरी र पार्टपुर्जाहरू (रु. ३६ अर्ब ६३ करोड), फलामजन्य सामग्री (रु. ३४ अर्ब ४१ करोड) र एलोपेथिक औषधि (रु. २८ अर्ब ५३ करोड) प्रमुख आयात वस्तुका रूपमा रहेका छन्।
निर्यातमा २२७ प्रतिशतको चमत्कारी वृद्धि
गत वर्ष निर्यातमा समेत ऐतिहासिक वृद्धि भएको छ। वीरगञ्ज नाकाबाट रु. १ खर्ब १ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामग्री निर्यात गरिएको छ। अघिल्लो आव २०८०/८१ मा निर्यात रकम रु. ३१ अर्ब १४ करोड मात्र रहेको थियो। यसले निर्यातमा २२७.०९ प्रतिशत अर्थात् रु. ७० अर्ब ७० करोडको वृद्धि दर्शाउँछ।
निर्यातमा सबैभन्दा अग्रस्थानमा रहेको वस्तु भटमासको प्रशोधित तेल हो। गत वर्ष मात्र यो वस्तुको निर्यात २९ करोड १४ लाख लिटर पुगेको छ, जसको मूल्य रु. ६१ अर्ब ४५ करोड छ। अघिल्लो वर्षको तुलनामा यो फड्को अत्यन्तै उल्लेखनीय हो, किनभने २०८०/८१ मा भटमासको प्रशोधित तेलको निर्यात केवल रु. ९ करोड बराबर थियो।
त्यस्तै, सूर्यमुखीको प्रशोधित तेल रु. ९ अर्ब २६ करोड मूल्यमा निर्यात गरिएको छ भने फलफूलको जुस निर्यातबाट रु. ७ अर्ब ६९ करोड आम्दानी भएको छ। फलाम तथा फलामजन्य सामग्री भारतसहित अन्य मुलुकहरूमा करिब रु. ५ अर्ब ३७ करोड मूल्यमा निर्यात गरिएका छन्।
व्यापार वृद्धिको संकेत
भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार, आयात र निर्यात दुवैमा देखिएको यो वृद्धि देशको आर्थिक चक्र पुनः सक्रिय बन्दै गएको संकेत हो। “अर्थतन्त्रमा सुधार देखिन थालेको छ, जसको प्रभाव व्यापार कारोबारमा परिरहेको छ,” उनले बताए।
सरकारको नीतिगत स्पष्टता, निजी क्षेत्रको लगानी प्रवर्द्धन, र औद्योगिक उत्पादनमा देखिएको वृद्धिले पनि व्यापार वृद्धिमा टेवा दिएको अनुमान गरिएको छ।