नेकपा एमालेभित्र हाल पार्टीको नीति, सङ्गठन र आन्तरिक संस्कृतिका सन्दर्भमा गम्भीर बहस आवश्यक देखिन्छ। एकातिर पार्टीले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेको दाबी गर्छ भने अर्कातिर व्यवहारिक रूपमा त्यसको विपरीत प्रवृत्तिहरू संस्थागत हुँदै गइरहेका छन्।
पैसावाल विना चुनाव जितिन्न” भन्ने कथन अहिले पार्टीभित्र जबर्जस्तरीले स्थापित गर्न खोजिँदै छ।
पद, टिकट र प्रभावशाली भूमिकाहरू निश्चित सञ्जालभित्रका व्यक्तिहरूमा सीमित हुँदै गएका छन्। सङ्घर्ष, बलिदान र आदर्शका मूल्यहरू पछि पारिँदै, सम्पन्न र पहुँचवाला व्यक्तिहरूको पकड पार्टीमा सशक्त बन्दै गएको छ। विगतमा आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, जेलनेल भोगेका, सम्पत्ति गुमाएका नेता-कार्यकर्ताहरू आजका दिनमा शिथिल झैँ प्रस्तुत भइरहेका छन्। यो विडम्बनापूर्ण अवस्थालाई टार्न नसके पार्टीको वैचारिक आत्मा गुम्न सक्ने खतरा प्रस्ट देखिन्छ।
विधान महाधिवेशन र अपेक्षित सुधार
२०८४ को निर्वाचन लक्ष्यसहित नेकपा एमाले विधान महाधिवेशनतर्फ उन्मुख हुँदै छ। तर, आजको सन्दर्भमा यो महाधिवेशन केवल औपचारिक दस्ताबेज संशोधन गर्ने अवसर नभई आत्म समीक्षा र पुनर्संरचनाको गम्भीर मोड पनि हो।
राज्यको सङ्घीय संरचना र लोकतान्त्रिक व्यवस्थासँग मेल खाने गरी पार्टीको साङ्गठनिक संरचना परिमार्जन गर्नु आजको आवश्यकता हो। सङ्घीय निर्वाचन क्षेत्रीय कमिटीलाई वैधानिक मान्यता दिँदै तल्लो तहमा कार्यरत स्कुल र प्रशिक्षण प्रणालीलाई पुनर्जीवित गर्नु अनिवार्य छ। एक दशकअघि राष्ट्रमा गणतान्त्रिक संविधान लागू भए पनि एमालेको साङ्गठनिक ढाँचा अझै पनि पूर्ण रूपमा सोही स्वरूपसँग मेल खाँदैन।
साथै, पार्टीभित्र ७० वर्षे उमेर हद र दुई कार्यकाल सीमाका विषयहरू अहिले चर्चामा छन्। तर यी प्राविधिक विषय हुन्।
मुख्य विषय भनेको वैचारिक सुदृढता, साङ्गठनिक अनुशासन र अवसरको न्यायोचित वितरण हो।
वैचारिक प्रशिक्षणको खण्डित परम्परा
मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादका आधारमा परिचालित एमालेले विगतमा व्यापक वैचारिक प्रशिक्षण अभियानहरू चलाएको इतिहास छ। तर पछिल्लो समय यो अभ्यास ठप्प प्रायः भएको देखिन्छ। एमाले–माओवादी एकता र त्यसपछिको विघटनले पार्टीभित्र वैचारिक स्पष्टता र प्रशिक्षण संस्कृतिमा गम्भीर विचलन ल्याएको छ। आधारभूत तहमा वैचारिक संवाद ठप्प हुनु, कार्यकर्ता पङ्क्तिमा पठन–चिन्तनको परम्परा कमजोर हुनुले पार्टीको गहिरो वैचारिक धरातल नै खुकुलो बनाएको छ।यदि पार्टीले आफूलाई अरूभन्दा भिन्न भन्ने दाबी गर्न चाहन्छ भने यसको आधार वैचारिक उचाइ, त्यागी चरित्र, जनसेवा भाव र पारदर्शी प्रशासनिक व्यवहार हुनुपर्छ। तर,
सत्तामा पुगेपछि नैतिकता भन्दा पदको शक्तिलाई मात्रै महत्त्वपूर्ण मान्ने प्रवृत्तिले अहिले पार्टी पङ्क्तिमा जरा गाडिरहेको देखिन्छ।
भावनात्मक सम्बन्धको क्षयीकरण
सशक्त पार्टी निर्माणमा विचार र सङ्गठनसँगै भावनात्मक एकता पनि मूल आधार हो। एमालेको प्रारम्भिक दिनमा नेता–नेताबिच, नेता–कार्यकर्ताबिच र कार्यकर्ता–कार्यकर्ताबिच गहिरो भावनात्मक सम्बन्ध विद्यमान थियो। आजको दिनमा ती सम्बन्धहरू प्रतिस्पर्धात्मक, शत्रु वत् र आन्तरिक अविश्वासले विस्थापित भइरहेका छन्। आत्मालोचना र रचनात्मक आलोचनाको स्थान व्यक्तिगत आरोप–प्रत्यारोप, गालीगलौज र सत्तामुखी गुटबन्दीले लिएको छ। यसले पार्टीलाई पटक–पटक विघटन र विखण्डनतर्फ धकेल्ने गरेको छ।
अवसरको वितरण र भविष्यको दिशा
राज्यको नेतृत्व गर्ने अवसर पाएको प्रमुख दलको हैसियतले एमालेका लागि अबको मुख्य सवाल भनेको—ती अवसरहरूको न्यायोचित, पारदर्शी र कार्यकर्तामुखी वितरण कसरी गर्ने हो भन्ने हो। सबै तहका सरकारमा संलग्न एमालेले पदलाई जिम्मेवारीको रूपमा बुझ्ने कि लाभको स्रोतको रूपमा हेर्ने भन्ने प्रश्नले आज उसको भविष्य तय गर्नेछ।जुनसुकै मूल्यमा पद प्राप्ति गर्ने प्रवृत्ति हाबी हुन थालेको, पैसावालहरूको प्रभाव बढ्दै गएको, सङ्घर्षशील कार्यकर्ताहरूको मूल्य गिरिरहेको अवस्थामा यदि तुरुन्तै वैचारिक, साङ्गठनिक र व्यवहारिक सुधारको अभियान सञ्चालन गरिएन भने पार्टी आफैँलाई गुमाउन सक्ने खतरा रहन्छ।
निष्कर्ष
नेकपा एमालेभित्र देखिएका वैचारिक अस्पष्टता, साङ्गठनिक शिथिलता, आन्तरिक असहिष्णुता र अवसरको असमान वितरण जस्ता चुनौतीहरूको समुचित समाधान खोज्ने सही क्षण यही हो। विधान महाधिवेशन केवल कागजी परिवर्तन होइन, पार्टीलाई नैतिक, वैचारिक र सङ्गठनात्मक पुनर्जागरण दिने कोसे ढुङ्गा बन्नुपर्छ।विगतका गौरवशाली उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा पार्टीलाई सुदृढ, उत्तरदायी र जनमुखी बनाउन सम्पूर्ण एमाले जनको साझा दायित्व हो—जो न केवल अबको निर्वाचन, तर समग्र पार्टी जीवनलाई दीर्घकालीन रूपमा दिशा दिन सक्नेछ।