झापा, जेठ १० ।
झापाको शिवशताक्षी नगरपालिकाका विद्यार्थीहरूले अब आफ्नै गाउँठाउँको धर्म, संस्कृति, परम्परा, पर्यटन, कृषि, भूगोल, चालचलन, वस्त्र, गरगहना व्यत्तित्व लगायतका विषयमा अध्ययन गर्न पाउने भएका छन् ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा ‘शिवशताक्षीको पहिचान’ नामक स्थानीय पाठ्यक्रम २०८१ को लोकार्पण भएपछि विद्यार्थीले आफ्रनै नगरको कथा अध्ययन गर्न पाउने भएका हुन् । आजै शिक्षकको हातमा पाठ्यक्रम समेत हस्तान्तरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए । स्थानीय पाठ्यक्रम भन्नाले कुनै स्थान विशेषको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक, आर्थिक र अन्य स्थानीय विशेषतामाथि आधारित अध्ययन अध्यापन गराउने सामग्री निर्माणको आधार दस्तावेजलाई जनाउछ । यसले विद्यार्थीलाई आफ्नो समुदाय, गाउँ र नगरको बारेमा गहिरो ज्ञान दिने नगर शिक्षा अधिकारीले बताएका छन् । उनका अनुसार स्थानीय पहिचान, गौरव र उत्तरदायित्वका बारेमा ‘शिवसताक्षीको पहिचान’ ले बोध गराउँछ । स्थानीय पाठ्यक्रमबाट विद्यार्थीहरूमा आफ्नो ठाउँप्रति माया, गर्व र जिम्मेवारीको भावना विकास हुने पाठ्यक्रमबाट अपेक्षा गरिएको छ । विद्यार्थीले आफ्नै परिवेशमा हुने विकास, समस्या र सम्भावनाबारे बुझ्ने मौका पाउने छन् । पाठ्यक्रमले व्यावहारिक शिक्षा र जीवनसँग जोडिएको ज्ञान दिने मात्र होइन, भावी नेतृत्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिवसताक्षीका नगर प्रमुख मेघाहङ थोप्रा, वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्की, शिक्षा शाखाका प्रमुख छवि ढकाल, पाठ्यक्रम लेखन मस्यौदा समितिका संयोजक श्रीप्रसाद खरेल लगायतले पाठ्यक्रमको संयुक्त रूपमा लोकार्पण गरेका थिए । नगर प्रमुख थोप्राले ढिलो भए पनि पाठ्यक्रम शिक्षकको हातमा पुगेकोमा खुसी व्यक्त गरे । पाठ्यपुस्तकमा नगरको जातजाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, भूगोल, आचरण, पर्यटन, भेषभुषा, खानपान, रहनसहन जस्ता विविध पक्ष समेटिएकोमा आफु सन्तुष्टि भएको उनले बताए । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै नगरको सम्पूर्णता बुझ्न र स्थानीय समृद्धिमा सहभागी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय पाठ्यक्रम मस्यौदा लेखन समिति सदस्य भीमप्रसाद दाहालका अनुसार पाठ्यक्रममा नगरको इतिहास, भाषा, संस्कृति, पेशा, पर्यटन, स्रोत व्यवस्थापन, संस्था तथा व्यक्तित्वको परिचय, गौरवपूर्ण योजना, नैतिक शिक्षा र आयुर्वेद लगायत सातवटा क्षेत्र समेटिएका छन् ।
पाठ्यक्रमले विद्यार्थीलाई बाह्य क्षेत्रको सट्टा आफ्नै पालिकाका विषय बस्तुमा जानकारी दिन प्राथमिकता दिएको उनले नेपाल कभरलाई जानकारी दिए । सामुहिक रुपमा तयार पारिएको पाठ्यक्रमको औचित्य, आवश्यकता, मूल्याङ्कन प्रणाली लगायतका विषयमा मस्यौदा समितिका सदस्य योन्देन सुनुवारले विषय शिक्षकलाई प्रवोधिकरण गराएका थिए । शिक्षा शाखा प्रमुख ढकालका अनुसार कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको मस्यौदा तयार असारको पहिलो सातासम्म गरी इ—कपी शिक्षकको हातमा पुर्याइने लक्ष शाखाले लिएको छ । आगामी वर्ष कक्षा ४ र ५, त्यसपछिको वर्षमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम शिवसताक्षी नगरमा लागू गरिनेछ ।
नेपाल शिक्षक महासङ्घ शिवशताक्षी नगर अध्यक्ष बेनु कार्की, पाठ्यक्रम मसौदा समितिका संयोजक श्रीप्रसाद खरेलले पाठ्यक्रमको विशेषता र औचित्यबारे बताएका थिए । उनिहरुले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयले अनिवार्य रुपमा यो पुस्तक विद्यालयमा लागु गर्नुपर्ने बताएका थिए ।